काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भवन बनाउनका लागि शहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ । मन्त्रालयमा कांग्रेस नेता प्रकाशमान सिंह मन्त्री छन् ।
आफ्नै पार्टीका नेता मन्त्री भएको बेला भ्रातृ संगठनको भवन बनाउन सरकारको ढुकुटीको ३ करोड रुपैयाँ विनियोजन गरिएको विषय बाहिरिएपछि सामाजिक सञ्जालहरूमा त्यसको आलोचना भइरहेको छ ।
काठमाडौं महानगरपालिका १३, रवि भवनमा नेपाल तरुण दलका लागि ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको हो । यो कुरा तरुण दलका अध्यक्ष विद्वान गुरुङले सार्वजनिक गरेका हुन् ।
भवन निर्माणको लागि बजेट विनियोजन पहल गर्ने पार्टी सभापति शेरबहादुर देउवा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिँदै पत्रसहित फेसबुकमा अध्यक्ष गुरुङले नै सार्वजनिक गरेका छन् ।