काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
सो गाउँपालिकको आर्थिक वर्ष २०७९–८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ ।
आयोगले सो गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध रु तीन लाख १६ हजार चार सय बराबरको बिगो माग दाबी गरेको छ ।
आयोगका अनुसार प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गतेको पत्र अनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ । खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नभएको देखिएको छ ।