एजेन्सी – दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।
घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने,“अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको बताए ।
प्रत्यक्षदर्शीहरूका अनुसार, बिहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो ।
गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।