ढोरपाटन– जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आएपछि दङ्ग छन् ।
भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको रु १३ लाख ३० हजार एक सय १३, गाउँपालिकाको रु सात लाख सात सय ७७ र जनश्रमदान आठ लाख छ हजार तीन सय ७१ गरी कूल २८ लाख ३७ हजार दुई सय ६१ मा ५५ धारा निर्माण गरिएका छन् । भल्कोट गाउँमा चार हजार नौ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पुर्याइएको हो ।
नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ । यस्तै, बुढाथोकमा नेवाको ११ लाख ५५ हजार १५, गाउँपालिकाको छ लाख ६४ हजार नौ सय ५५ र जनश्रमदान छ लाख ५७ हजार नौ सय आठ गरी कूल २४ लाख ७७ हजार आठ सय ७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए ।
यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पुर्याएको छ । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए।
घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताए। स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ ।
अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भने, ‘गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ । सानो पानी आउने, धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।’