काठमाडौं –शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान नियुक्त भएका छन्। उनी २५ वर्ष २५८ दिनको उमेरमा भारतीय टेस्ट क्रिकेटको कप्तान बनेका हुन्। बिसीसीआईले उनलाई नयाँ टेस्ट कप्तान नियुक्त गरेको हो।
यसअघि रोहित शर्मा भारतको टेस्ट टीमको कप्तान थिए। उनले टेस्ट क्रिकेटबाट केही दिनअघि मात्रै सन्यास लिएका थिए। रोहितले सन्यासको घोषणा गरेको केही दिनमै विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।
बिसिसिआईले ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिएको छ।
साथै २० जुनदेखि सुरु हुने इंग्ल्याण्डसँगको टेस्टका लागि १८ सदस्यीय टोलीको घोषणासमेत गरिएको छ।
टोलीमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान/विकेटकिपर), यशस्वी जायसवाल, केएल राहुल, साई सुदर्शन, करुण नायर, अभिमन्यु ईश्वरन, ध्रव जुरेल (विकेटकिपर), नीतीश रेड्डी, शार्दुल ठाकुर, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव रहेका छन्।