काठमाडौं । भगवती क्लब टोखा सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा पराजित भएको छ । शुक्रबार काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा सरस्वती युथ क्लबले भगवतीलाई ३–२ले पराजित गरेको हो ।
खेलमा भगवतीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । खेलको पहिलो हाफमा भगवतीले विक्रान्त नरसिंह लामाको गोलमा १–०को अग्रता बनायो । विक्रान्त नरसिंहले पहिलो हाफको इन्जुरी समयमा टोलीलाई अग्रता दिलाए । तर, भगवतीले यो दोस्रो हाफको मध्यमा लय गुमायो । ७३औँ मिनेटमा सरस्वतीका नोर्बु तामाङले टोलीको निम्ति बराबरी गोल फर्काए ।
भगवतीले विक्रान्तकै दोस्रो गोलबाट पुनः अग्रता बनायो । विक्रान्तले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई २–१ को अवस्थामा ल्याए ।
खेलको इन्जुरी समयमा सबिनकुमार लुंगेली मगरले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई फर्काए । यसको केही मिनेटमा नरेशकुमार खत्रीले गोल गरेपछि सरस्वतीले जित पक्का गरेको हो ।
जितसँगै सरस्वतीले पुनरागमन जित निकाल्दै १८ अंकका साथ लिग अन्त्य गरेको छ । सरस्वतीले १३ खेलमा ६ जित र सात हारबाट १८ अंक जोडेको हो ।