यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा

काठमाडौं– नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ।

थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो।

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दू वर्माले सर्वाधिक ३३ रन बनाइन्। उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन्। यस्तै त्रीथा सतिशले २१, हीना हरिस होट्चन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन्।

नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन्। चार ओभरमा २० रन खर्चिँदै उनले चार विकेट लिएकी हुन्। यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार