काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आज हङकङसँग खेल्न लागेको हो । खेल थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२:३५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा दुई खेलबाट तीन अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा रहेको नेपालले हङकङलाई पराजित गर्न सके एक खेल अगावै सुपर– ३ मा स्थान बनाउने छ । पराजित भएको खण्डमा यात्रा कठिन बन्नेछ ।
यसअघिका खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङले भने आफ्ना दुवै खेलमा अंक बाँडेर २ अंक जोडेको छ ।