काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलोपटक उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । ‘सिप मेला’को सन्दर्भमा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् ।
यस वर्ष २०८१ जेठ ७ गतेदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी महानगरको छ । मेलाका लागि उद्योगी र व्यवसायीबाट जनशक्ति उत्पादन गर्ने महानगरको योजना रहेको छ । सोही सिलसिलामा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेको हुन् ।
बालेनसँगको छलफलमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसी र उपमहाप्रबन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्तासहित प्रतिनिधि रहेका थिए ।
छलफलमा उद्योग तथा वाणिज्य क्षेत्रले कस्ता खालका जनशक्ति आवश्यकता रहेको भन्दै उद्योगी व्यवसायीलाई सोधेका थिए ।