प्रिन्टिङ मशिन खरिद भ्रष्टाचारमा पौडेलसहित ३ जना दोषी ठहर, ४० करोड जरिवाना

काठमाण्डु – प्रिन्टिङ मशिन खरिदका क्रममा भएको भ्रष्टाचार आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ३ जना दोषी ठहर भएका छन् ।

आईतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई दोषी ठहर गरेको हो ।

अदालतले म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गरेको छ । अख्तियारको दाबीबमोजिम अदालतले प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । बिगो रकम दामासाहीले ३ प्रतिवादीबाट असुल्ने फैसला अदालतले गरेको छ ।

अदालतले विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असूलउपर गर्न फैसला सुनाएको छ ।

अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले फैसला गरेको छ । पौडेलविरुद्ध २ कसूरमा गरी २ वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार