चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा २२ जनाको मृत्यु

एजेन्सी–उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ।

राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो।

“अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २ः०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्।”

राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताएको सिसिटिभीले जनाएको छ।

उनले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन्।

अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार