स्पेन र पोर्चुगलमा बिजुली अवरुद्ध हुँदा लाखौँकाे जनजिवन अस्तव्यस्त !

फोन, इन्टरनेट अवरुद्ध हुनुका साथै एटीएमबाट पैसा समेत  निक्लेन

काठमाडौं । स्पेन र पोर्चुगलमा बिजुली अवरुद्ध हुँदा यी दुई देशमा सोमबार अस्तव्यस्तको अवस्था सिर्जना भएको छ । हजारौँ मानिसले रेल यात्रा गर्न पाएनन् । लाखौँ मानिसको फोन र इन्टरनेट अवरुद्ध हुनुका साथै एटीएमबाट पैसा निकाल्न समेत नपाएको समाचार संस्था एपीले जनाएको छ ।

विद्युत् ग्रिडमा अचानक भएको गडबढीले त्यहाँको प्राधिकरणलाई यसको कारण खोज्न बाध्य बनाएको छ ।

यसैबीच, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई सम्बोधन गर्दै बिजुली अवरुद्ध भएका कारण देश ठप्प भएको लगभग ११ घण्टापछि पनि सरकारी विशेषज्ञहरू यो घटनाको कारण पत्ता लगाउने प्रयासमा जुटेको बताएका छन् ।

उनले भने, “हामीले यसअगाडि विद्युत् ग्रिड प्रणालीमा भएको गडबढी कारण व्यापक विद्युत् अवरुद्धको भएको र यस्तो अवस्थलाई अनुभव गरेका थिएनौँ ।”

स्थानीय समयअनुसार सोमबार दिउँसो १२ः३३ देखि स्पेनको विद्युत् ग्रिडले ५ सेकेन्डभित्रै राष्ट्रिय मागको ६० प्रतिशत बराबर अर्थात १५ गिगावाट विद्युत् आपूर्ति गुमाएको उनले बताए ।

स्पेनको बिजुली वितरण गर्ने कम्पनी रेड इलेक्ट्रिकाका प्रमुख एडुआर्डो प्रियेटोले यो असाधारण घटना भएको बताए ।

सान्चेजले सोमबार राति ११ बजेसम्म देशले ५० प्रतिशत बिजुली फिर्ता भएको र स्पेनमा मंगलबारसम्म बत्ती फिर्ता हुने आश्वासन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार