काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । बैंकहरुले गरेको नाफा गत आर्थिक वर्षको तुलनामा १.४० प्रतिशतले बढी हो ।२० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा पोहोरको तुलनामा बढेको छ भने ९ को घटेको छ ।
सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ ।
यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।