काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई १८ रनको पराजित गरेको छ ।
आइतबार भारतको वान्खेडे क्रिकेट रंगशालामा बैंगलुरुले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन मात्र जोड्न सक्यो ।
मुम्बईलाई सस्तैमा रोक्न बैंगलुरुका सुयास शर्माले दुई विकेट लिए । ज्याकोब डफी, रशिम सलाम, क्रुनाल पण्ड्याले समान एक विकेट लिए ।
मुम्बईका निम्ति शेरफन रथरफोर्डले ७१ रनको अर्धशतकीय इनिङ खेले । रथरफोर्डले ३१ बलमा एक चौका र नौ छक्का प्रहार गरे ।
कप्तान हार्दिक पण्ड्याले ४० रन बनाए । ओपनर रायन रिकेल्टनले ३७ रन जोडे । सूर्यकुमार यादवले ३३ रन जोड्दा ओपनर रोहित शर्माले १९ रन जोडे ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको बैंगलुरुले मुम्बईविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।
बैंगलुरुको निम्ति ओपनर फिल शाल्टले ७८ रनको अर्धशतकीय पारी खेले । शाल्टले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति विराट कोहलीसँग १२० रनको साझेदारी गरका थिए ।
अर्का ओपनर विराट कोहीले पनि ५० रनको अर्धशतकीय पारी खेले । कोहीले ३८ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यी दुईले १०.५ ओभरसम्म साझेदारी गर्दै टोलीलाई लय दिएका थिए ।
कप्तान रजत पाटिदारले टोलीको निम्ति तेस्रो अर्धशतक प्रहार गरे । ५३ रनको अर्धशतकीय पारी खेलेका कप्तान पाटिदारले २० बलमा चार चौका र पाँच छक्का प्रहार गरे । उनले तेस्रो विकेटको निम्ति कोहलीसँग ६५ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
अविजित रहेका टिम डेविडले ३४ र जितेस शर्माले १० रन जोडे ।
मुम्बईका ट्रेन्ट बौल्ट, हार्दिक पण्ड्या, मिचेल सान्टनर र शर्दुल ठाकुरले समान एक विकेट लिए ।
जितसँगै बैंगलुरुले प्रतियोगितामा ६ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बैंगलुरुले चार खेल खेल्दा तीन जित र एक हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित मुम्बई भने हारसँगै दुई अंकका साथ तालिकाको आठौँ स्थानमा सीमित भएको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार नै भएको पहिलो खेलमा गुजरात टाइटान्सले लखनऊ सुपर जायन्ट्सविरुद्ध सात विकेटको जित निकालेको छ ।