काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २६) सुदूरपश्चिम प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
खेलमा आर्मी सुदूरपश्चिमलाई पराजित गर्दै अंक दुरी बढाउने लक्ष्यमा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको आर्मीले ११ अंक जोडेको छ । आर्मीले ६ खेल खेल्दा पाँच जितसहित यो नतिजा आत्मसाथ गरेको हो । टोलीको एक खेल भने रद्द भएको थियो ।
सुदूरपश्चिम भने आर्मीविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । एक अंकले पछाडि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले १० अंक जोडेको छ । सुदूरपश्चिमले सात खेल खेल्दा पाँच जित र दुई हारसहित १० अंक जोडेको हो ।
यी दुईबीचको खेल जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।
आजै हुने दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब कर्णाली प्रदेशसँग भिड्दै छ । खेलमा पुलिस चौथो जितको खोजीमा हुनेछ । तालिकाको चौथो स्थानमा रहेको पुलिसले सात अंक जोडेको छ । पुलिसले ६ खेल खेल्दा तीन जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।