काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि सुरु हुने भएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनका कारण परीक्षा तालिका करिब १२ दिन पछाडि सारिएको हो। गत वर्ष भने एसईई चैत ७ गतेदेखि नै प्रारम्भ भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटक करिब ५ लाख १० हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्, जुन संख्या गत वर्षको ५ लाख १४ हजार ७१ भन्दा करिब ४ हजारले कम हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसपटक सहभागी संख्या घटेको जानकारी दिएका छन्।
यस वर्ष सहभागी विद्यार्थीमध्ये ६३ हजार ‘एक्जाम्टेड’ समूहका रहेका छन् भने जापानबाट पनि २३ जना विद्यार्थीले परीक्षा दिने भएका छन्। कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र रहेका छन् । परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्र तोकिएका छन्। प्रश्नपत्रहरू सबै ७७ जिल्लामा पुर्याइसकिएको छ र जिल्ला प्रहरी कार्यालयमार्फत सुरक्षित रूपमा राखिएको छ।
परीक्षा चैत १९ देखि २९ गतेसम्म हरेक दिन बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। परीक्षा सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । तालिका अनुसार, पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसपछि २० गते नेपाली, २२ गते गणित, र २३ गते संस्कृत तथा वेद विद्याश्रमतर्फका विषयहरूको परीक्षा लिइनेछ। बाँकी दिनहरूमा प्राविधिक धारका पुराना तथा नयाँ पाठ्यक्रमअन्तर्गतका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ ।