बाँके । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउनेभन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
शनिबार (चैत ३०) बाँकेमा पार्टीको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उनले काठमाडौंको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्कने बताए । पूर्वराजा आफू निर्वाचनमा नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुईतिहाइ सांसद जितेर राजसंस्था फर्काउन उनले चुनौती दिए । “राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन,” उनले भने ।
महामन्त्री शर्माले देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुंग्याउनुपर्नेमा जोड दिए । उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए ।