निर्वाचन मिति नजिकिँदै गर्दा समानुपातिक सूचीमा ठूलो फेरबदल, बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूचीमा व्यापक संशोधन गरेको छ । छानबिन प्रक्रियापछि विभिन्न राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारमध्ये ७६ जनाको नाम सूचीबाट हटाइएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार कानुनी मापदण्ड, उजुरी, आयोगका पूर्व निर्णय, तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको योग्यतासम्बन्धी परीक्षण गरिएको थियो ।

छानबिनका क्रममा नेपाली कांग्रेसबाट १ जना, नेकपा (एमाले) बाट १ जना र नेकपाबाट ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ । यसका अतिरिक्त, कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना, प्रदेशसभा समानुपातिक सूचीमै रहेका २५ जना, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नाम नरहेका १ जना तथा पिछडिएको क्षेत्रको सूचीमा नपर्ने २ जनाको नाम पनि हटाइएको छ ।

त्यसैगरी, महिला उम्मेदवार अनिवार्य हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार समावेश गरिएको कारण एक जनाको नाम खारेज गरिएको आयोगले जनाएको छ । सम्बन्धित राजनीतिक दलहरूको अनुरोधमै १० जनाको नाम हटाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता भट्टराईका अनुसार दुई जना उम्मेदवारमा एकभन्दा बढी कारण देखिएकाले उनीहरू पनि बन्दसूचीबाट हटाइएका हुन् । निर्वाचन मिति नजिकिँदै जाँदा समानुपातिक सूचीमा भएको यो संशोधनलाई निर्वाचन प्रक्रियाको पारदर्शिता र कानुनी शुद्धताको दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार