हसिनाको पहिलो सार्वजनिक सम्बोधन, युनुसलाई ‘रक्तपिपासु फासीवादी’को संज्ञा

काठमाडौं । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसमाथि ‘रक्तपिपासु फासीवादी’को आरोप लगाएकी छन् ।

आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा उनले युनुसले अवैध र हिंस्रक शासन चलाइरहेको आरोप लगाइन् । हसिनाका अनुसार बंगलादेश अहिले त्रास, अराजकता र लोकतन्त्रको निर्वासनको चरणमा पुगेको छ ।

दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लबमा आयोजित ‘सेभ डेमोक्रेसी इन बंगलादेश’ कार्यक्रममा उनले एक अडियो सन्देशमार्फत सम्बोधन गरेकी हुन् । कार्यक्रममा हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्रीहरू र बंगलादेशी प्रवासीहरूको उपस्थिति थियो ।

हसिनाले बंगलादेश गहिरो खाडलको किनारमा उभिएको बताइन् । आफ्नो पिता शेख मुजिबुर रहमान र सन् १९७१ को स्वतन्त्रता संग्रामको स्मरण गर्दै उनले देश अहिले एउटा ठूलो कारागार, फाँसीको मैदान र मृत्युको उपत्यकामा परिणत भएको बताइन् । उनले चरमपन्थी शक्ति र विदेशी स्वार्थले राष्ट्रलाई बर्बाद पारिरहेको दाबी गरिन् ।

हसिनाले ५ अगस्ट २०२४ मा एक सुनियोजित षड्यन्त्रअन्तर्गत आफूलाई जबरजस्ती सत्ताबाट हटाइएको बताइन् । उनले भनिन्, “राजधानीदेखि गाउँसम्म लुटपाट, असुली र भीडद्वारा हिंसा भइरहेको छ । कानुन–व्यवस्था पूर्ण रूपमा ध्वस्त भएको छ ।”

हसिनाको मुख्य निशाना युनुसमाथि नै थियो । उनले युनुसले राष्ट्रको ढुकुटी रित्तो बनाएको र विदेशी स्वार्थका लागि देशको जमिन तथा स्रोतसाधन बेचिरहेको आरोप लगाइन् । “राष्ट्रसँग गद्दारी गरेर युनुसले हाम्रो मातृभूमिलाई विनाशको बाटोमा लैजाँदैछन्,” उनले भनिन् ।

आफ्नो सम्बोधनका क्रममा उनले लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान गरिन् । उनले सहिदहरूको रगतले लेखिएको संविधान पुनर्बहाली गर्ने बताइन् । भाषणका क्रममा ‘जय बंगला’ र ‘जय बंगबन्धु’का नाराहरू गुञ्जिरहेका थिए ।

सम्बोधनका क्रममा हसिनाका मुख्य माग लोकतन्त्र बहालीका लागि युनुस समूहलाई हटाउनुपर्ने, दैनिक हुने हिंसा र लुटपाट रोकेर स्थिरता कायम गर्ने, धार्मिक अल्पसंख्यक र महिलामाथि भइरहेका लक्षित आक्रमणहरू बन्द गर्नुपर्ने, पत्रकार र अवामी लिगका सदस्यहरूलाई धम्काउने कार्य बन्द गरी न्यायपालिकाप्रति विश्वास जगाउने, गत वर्षका घटनाहरूको सत्यतथ्य बाहिर ल्याउन संयुक्त राष्ट्रसंघबाट निष्पक्ष छानबिन हुनुपर्ने रहेको छ ।

हसिनाले आफ्नो लडाइँलाई स्वतन्त्रता संग्रामका आदर्शहरू र चरमपन्थबीचको संघर्षका रूपमा चित्रण गरेकी छिन् । भारतबाट गरिएको यो पहिलो सम्बोधनले उनले विदेशबाटै बंगलादेशको राजनीतिमा प्रभाव जमाइराख्ने स्पष्ट संकेत दिएको छ ।

हसिनाले अन्त्यमा भनिन्, “हार नमान्नुहोस् । हाम्रो देश नष्ट गर्न खोज्नेहरूसँग लड्नुहोस् । मिलेर बंगलादेशमा लोकतन्त्र पुनर्बहाली गरौँ ।” एनडीटीभीबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार