६ महिनामा ९ खर्ब ३९ अर्बको आयात हुँदा एक खर्ब ४२ अर्बको निर्यात 

काठमाडौं । भन्सार विभागको पछिल्लो ६ महिनामा विदेशी सामग्री आयात १४ प्रतिशत बढेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वस्तु आयात १४.१८ प्रतिशत बढेको हो ।

विभागका अनुसार सो अवधिमा ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँ बढीको सामग्री आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

बितेका ६ महिनामा वस्तु निर्यात झण्डै ४४ प्रतिशत बढेको छ । विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ४३.७६ प्रतिशत बढेको हो ।

यसअवधिमा एक खर्ब ४२ अर्ब एक करोड रुपैयाँ बढीको सामग्री निर्यात भएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ९८ अर्ब ७८ करोडको वस्तु निर्यात भएको तथ्यांक छ ।

विभागका अनुसार पछिल्ला ६ महिनामा डिजेलको आयातको हिस्सा धेरै छ । उक्त अवधिमा ५८ अर्ब रुपैयाँबढीको डिजेल आयात भएको छ ।

यस्तै कच्चा सोयाविन तेलको हिस्सा समेत उच्च छ । ६ महिनामा ४८ अर्ब ८३ करोड रुपैयाँ बराबरको सोयाविन तेल आयात भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार