काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ४७५ वटा परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विभागका अनुसार यस अवधिमा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठूला उद्योग मा वैदेशिक लगानी प्रतिबद्धता आएको छ। क्षेत्रगत रूपमा हेर्दा कृषि उत्पादनमूलक, सूचना प्रविधि र पर्यटन क्षेत्र लगानीकर्ताको प्रमुख रोजाइमा परेका छन्।
कृषि क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस्तै, पर्यटन क्षेत्रमा १४५ वटा परियोजनामार्फत १० अर्ब ५४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको छ।