एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनले प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए । यो उनको करियरको तेस्रो उपाधि हो ।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै ५–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार २८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले एक लाख ७० हजार पुरस्कार प्राप्त गरे ।

समग्रमा २–ओभर २९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन–पार ७२ र भुवनले ४–अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले एक लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा ३–ओभर २९१ को स्कोरमा पाँचौँ स्थान हात पारे । उनले आज ३–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ४–ओभर २९२ को स्कोरमा भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्त रूपमा छैटौँ भए । भुवनले ४–ओभर ७६ खेल्दा शुक्र र दिनेशले २–ओभर ७४ मा खेल पूरा गरे । उनीहरूले ६४ हजार ३३३ नगद पुरस्कार प्राप्त गरे ।

एमेच्योर रूबेनले २–अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दशौँ भए । उनले आज १–ओभर ७३ को स्कोरसहित समग्रमा ८–ओभर २९६ स्कोर गरे ।

अन्तिम १८ होलको सुरूवात गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३–अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । पाँचौँ होलमा एक सट खेर फाले । यसपछि १७औँ होलको बोगीविरूद्ध १२औँ र १५औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

जयरामले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे । तर, तेस्रो र सातौँ होलमा एक–एक सट खेर फाले । यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले । १०औँ र १२औँ तथा १४ देखि १६ सम्म लगातार तीन गरी कुल ५ बोगी प्रहार गरे । यो खराब प्रदर्शनमा ब्याक नाइन ५–ओभर ४१ मा सकाए ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन–पार ३६ मा सकाए । फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए । ब्याक नाइनमा १०औँ, १२औँ र १४औँ होलमा बर्डी प्रहार गरे । तर ५–पारको १५औँ होलमा डबल बोगीको समान गर्दा १८औँ होलमा बोगी प्रहार गरे ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीन गरी कुल ६ बर्डी प्रहार गरे । आठौँ र चौधौँ होलमा एक–एक सट खेर फाले ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो । जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे । सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार