अस्ट्रेलियामा लोकप्रिय बन्दै टु शेर्पाका बियर 

अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका प्रवासी नेपालीको पहलमा स्थापित टु शेर्पा ब्रुअरीले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गर्दै छुट्टै पहिचान निर्माण गरेको छ । टु शेर्पा ब्रुअरीका निर्देशक दिपेश श्रेष्ठले सानो सोच तर ठूलो विश्वासका साथ सुरु भएको यात्रा विश्वका प्रतिष्ठित मञ्चहरूमा गर्वका साथ प्रस्तुत हुन सफल भएको बताए ।

सिड्नीमी आयोजित आयोजित एक कार्यक्रममा कम्पनीका निर्देशक श्रेष्ठले टु शेर्पाको स्थापना, विकास यात्रा र भविष्यका योजनाबारे जानकारी दिएका थिए । उनले व्यवसायिक सफलतामा सीमित नभई, नेपाली पहिचान र हिमाली प्रेरणालाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यका साथ अघि बढिरहेको बताए ।

अस्ट्रेलियाकै सबैभन्दा ठूलो र प्रतिष्ठित क्राफ्ट बियर महोत्सव ग्याब्समा टु शेर्पाको उत्पादन छनोट हुनु कम्पनीका लागि ऐतिहासिक उपलब्धि बनेको छ । विश्वका चर्चित क्राफ्ट बियर ब्रान्डहरूसँगै एउटै मञ्चमा आफ्नो स्थान सुरक्षित गर्नु टु शेर्पाको गुणस्तर, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमताको प्रमाण मानिएको छ ।

यसै क्रममा कम्पनीले जापानमा समेत आफ्ना उत्पादनहरू हिमालयन लागर, एभरेष्ट पेल एल, यती र रकजकको निर्यात सुरु गरेको छ । निर्देशक श्रेष्ठका अनुसार जापानी बजारमा यी बियरहरू अस्ट्रेलियामा उत्पादन भए पनि गर्वका साथ नेपाली बियरका रूपमा अलग पहिचानसहित प्रस्तुत गरिएका छन्, जसले नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा थप मजबुत बनाएको छ ।

कम्पनीले यसै अवसरमा आफ्नो नयाँ उत्पादन पीकी प्लीस्नर पनि सार्वजनिक गरेको छ । हिमाली ताजापन र युरोपेली बियर शैलीको सन्तुलित मिश्रणमा तयार गरिएको यो बियरले उपभोक्तालाई नयाँ स्वाद र उच्च गुणस्तरको अनुभव दिने अपेक्षा गरिएको छ ।

टु शेर्पाका बियरहरू अस्ट्रेलियाको प्रतिष्ठित प्रमुख सय बियरका सूचीमा समेत मनोनयनमा परेका छन् । कम्पनीका अर्का निर्देशक सुजिल साहीले अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा सम्पूर्ण शुभचिन्तकहरूलाई मुलुकको पहिचान दिलाउन लागिपरेको टु शेर्पालाई माया र सद्भाव राखिदिन अनुरोध गरेका छन् । “यो अस्ट्रेलियामा बने पनि नेपालको पानीको स्वाद र नेपाली नाममा नामाकरण गरिएका छन् । यसले मुलुकको पहिचान अभिबृद्धि गराउन मद्दत पुग्नो विश्वास लिएका छौँ,” सुजिलले भने ।

यी बियर अहिले अस्ट्रेलियाका प्रमुख रक्सी बिक्रेताहरू डान मर्फी र बीडब्लूएसलगायतले समेत बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार