चार महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ – विप्रेषण आप्रवाह (रेमिट्यान्स) आय ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लााख २७ हजार ८३७ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार