एनपीएल : सुदूरपश्चिमविरुद्ध फाफको कीर्तिमानी अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सका ओपनर फाफ डू प्लेसिसले विस्फोटक अर्धशतक बनाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्यारहेको विराटनगरबाट फाफले १९ बलमै ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरे ।

यो एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि यो कीर्तिमान काठमाण्डूका भीम सार्कीको नाममा थियो । भीमले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाएका थिए ।

विराटनगरबाट हाल क्रिजमा रहेका अर्का ओपनर साम हेजलेट ४५ रनमा खेलिरहेका छन् । सात ओभरको समाप्तिमा विराटनगरले विकेट नगुमाई ९७ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार