अलैँचीको मूल्यमा निरन्तर गिरावट

फुङ्लिङ । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार-चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।

गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपियाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ ।

बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपियाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए ।

असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देखि १७ हजार रुपियाँले वृद्धि भएर नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपियाँसम्म पुगेको थियो । तर उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको हो । अन्तरराष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार