काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन १ देखि कात्तिक मसान्तसम्म) मा ५५ अर्ब ३६ करोड सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेको थियो । कात्तिक मसान्तसम्म आइपुग्दा त्यसमा ५५ अर्ब ३६ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको हो ।
यो कुल गार्हस्थ उत्पादनको ४४.६९ प्रतिशत हुन आउने कार्यालयले जानकारी दिएको छ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.२५ प्रतिशत रहँदा आन्तरिक ऋणको हिस्सा ४६.७५ प्रतिशत छ ।
चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा कात्तिक मसान्तसम्म १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको कार्यालयले जानकारी लिएको छ । यो वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत हो ।
त्यसमा पनि आन्तरिक ऋण प्राप्तिको प्रगति ३३.१५ प्रतिशत रहेको छ जबकी बाह्य ऋण प्राप्तिको प्रगति ८.०३ प्रतिशत रहेको छ । कार्यालयका अनुसार कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८६.४८ र १३.५२ प्रतिशत रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५० अर्ब ८८ करोड भुक्तानी भएको कार्यालयले जानकारी दिएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ३६.७१ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा कात्तिक मसान्तसम्ममा कुल ऋण सेवा खर्च २.४७ प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ ।