नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

२६ लाख १५ हजार २०६ रुपैयाँको लगानीमा हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्न स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई जिम्मा दिएको थियो।

तर, निर्माण उपभोक्ता समितिले मापदण्ड विपरीत प्रयोगमा ल्याउन नसक्ने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको आयोगको आरोप छ।

हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हिनामिना हानि नोक्सानी र दुरुपयोग भएको आयोगको आरोप छ।

आयोगले उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार