बंगलादेशको इतिहासमै सबैभन्दा ठूलो बैंकिङ घाटा, युनियन बैंक २५७९४ करोड नोक्सानीमा

काठमाडौं । बंगलादेशमा रहेको युनियन बैंकले बंगलादेशको बैंकिङ इतिहासमै सबैभन्दा ठूलो घाटा व्यहोरेको छ । इस्लामिक शरिया कानुनअनुसार चलेको यो बैंकले २०२४ मा २५७९४ करोड बंगलादेशी टाकाको घाटा व्यहोरेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय घोटालामा फसेको एस आलम समूहक कडा नियन्त्रणमा रहेको युनियन बैंक पीएलसीले २०२४ मा सो रकमको आश्चर्यजनक घाटा व्यहोरेको हो । जसलाई विश्लेषकहरूले बंगलादेशको कुनै पनि बैंकले इतिहासमा अहिलेसम्म नव्यहोरेको घाटा भनेर वर्णन गरेका छन् ।

इस्लामिक शरिया सिद्धान्तअन्तर्गत सञ्चालन गरिएका बैंकहरूले ग्राहकहलाई ब्याजमुक्त बैंकिङ सेवाहरू प्रदान गर्छन् । बंगलादेशमा अल-अराफाह इस्लामी बैंक पीएलसी, स्ट्यान्डर्ड बैंक पीएलसी, र बैंक एशिया, इस्टर्न बैंक पीएलसी, ट्रस्ट बैंकजस्ता बैंकहरूले यस्तो सेवा प्रदान गर्दै आएका छन् । तर गत वर्ष भएको प्रदर्शनपछि स्थानीयले सावाँ समेत नितरेपछि बैंकहरूले समस्या भोग्दै आएका छन् । यी बैंकहरूमध्ये युनियन बैंकले आश्चर्यजनक घाटा व्यहोरेको हो ।

मंगलबार ढाका स्टक एक्सचेन्जमा खुलासा गरिएको लेखापरीक्षण तथ्याङ्कले वर्षौंदेखि लुकाइएको विषाक्त ऋण र वित्तीय हेरफेरबाट भएको क्षतिका कारण यस्तो घाटा भएको उल्लेख गरेको छ । घाटाले बैंकको खुद सम्पत्ति मूल्यलाई रसातलमा पुर्‍याइदिएको छ । त्यहाँको केन्द्रीय बैंकले अब सबैखाले इस्लामिक बैंकहरूलाई मर्ज गरेर बैंकको घाटा पूर्ति गर्ने प्रयास गरिरहेको भए पनि अरू बैंकको समेत अवस्था त्यति उत्साहजनक नभएका कारण यो काम पनि कठिन भएको विश्लेषण गरिएको छ ।

युनियन बैंकका आन्तरिक रिपोर्टअनुसार २०२४ मा बैंकको प्रति शेयर घाटा २४८.९१ टका पुगेको छ । जुन एक वर्षअघि २.८२ टका थियो । यो रिपोर्ट केन्द्रीय बैंकको प्रत्यक्ष निर्देशनमा सिफुल शमसुल आलम एन्ड कम्पनीद्वारा गरिएको लेखापरीक्षणमा समावेश गरिएको छ । पुँजीमा देखिएको क्षयले युनियन बैंकको प्रतिशेयर खुद सम्पत्ति मूल्यलाई –२३७.४४ टकामा पुर्‍याइदिएको छ ।

बैंकको घाटालाई बैंकिङ क्षेत्रका विश्लेषकहरूले भने ठूलो संकटको पूर्वसूचना भनेर विश्लेषण गर्ने गरेका छन् । उनीहरूका अनुसार यस परिमाणको नकारात्मकता बंगलादेशको बैंकिङ क्षेत्रकै लागि खराब सूचक हो । यसको अर्थ बैंकको दायित्व यसको सम्पत्तिभन्दा धेरै बढी छ, जसले गर्दा संस्थाले यसको सम्पूर्ण सम्पत्ति बेचेर पनि निक्षेपकर्ताको दायित्व पूरा गर्न सक्दैनन् । शेयरधनीहरूले प्रतिफल पाउने त सम्भावना नै रहँदैन । बैंकको सञ्चालन नगद प्रवाह पनि तीव्ररूपमा बिग्रिएको छ । यसको प्रति शेयर खुद सञ्चालन नगद प्रवाह ऋणात्मक २२.०९ टीकेमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ८० गुणाले बढी हो ।

द बिजिनेस स्ट्यान्डर्डको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार