दिल्लीको वातावरण बन्यो निकै प्रदुषित, सास फेर्नै मुस्किल भयो भन्दै सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।

भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए भने ‘प्लाकार्ड’ बोकेका ती बालबालिकाहरूले वातावरण प्रदुषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाइरहेका थिए। उनीहरूले जुलुसमा बोकेका ‘प्लेकार्ड’मा लेखिएको थियो, “म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु।’ तीन करोड बासिन्दाहरूको विशाल महानगरीय क्षेत्र नयाँ दिल्ली पछिल्लो समय निरन्तर विश्वको सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ।

तीतापिरो बाक्लो धुँवाले प्रत्येक जाडोमा दिल्लीको क्षितिजलाई ढाक्ने गर्छ । चिसो ऋतुसँगै बहने चिसो हावाले प्रदूषकहरूलाई जमिनको सतहको नजिक ल्याउँछ। यो त्यतिबेला अझ विकराल बन्छ जब राजधानी वरपरका किसानहरूले हिउदे खेती लगाउनुपूर्व ‘छापो’ पोल्छन्। दिल्लीमा रहेका कारखाना र भारी ट्राफिकबाट पनि प्रदुषणको उत्सर्जनको घातक मिश्रण सिर्जना हुन्छ। क्यान्सर निम्त्याउने सूक्ष्म कणहरू रक्तप्रवाहमा प्रवेश गर्न सक्ने पिएम २.५ को स्तर कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढ्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार