काठमाडौं । सरकारले अब शिक्षक तथा प्राध्यापकहरुको संघ संगठनलाई मान्यता नदिने भएको छ । शिक्षामन्त्री महावीर पुनले शिक्षक तथा प्राध्यापक दलीय गतिविधिमा लागे सोझै बर्खास्त गर्ने कठोर निर्णय गरेका छन् ।
शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।
आइतबार एक सूचनामार्फत उनले कुनै पनि पेशागत ऐन नियमले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।
पुनले भनेका छन्, ‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं ।’ दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको उनले बताएका छन् ।