रवि लामिछानेको मुद्दामा आज पनि उच्चले गरेन निर्णय

अदालतबाट मुद्दाको मुल मिसिल झिकाउन आदेश

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलले आज बिहीबार पनि निर्णय गर्न सकेन् ।

उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलाशले आज उनीहरुलाई धरौटीमा रिहा गर्ने अनुमान गरिए पनि त्यो नगरी जिल्ला अदालतबाट मुद्दाको मुल मिसिल झिकाउन आदेश दिएको छ ।

इजलासले मुद्दाको मुल मिसिल र पुरक अभियोगको सक्कल मिसिल झिकाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले बताएका छन् । जिल्लाबाट मिसिल आएपछि निवेदनमाथि सुनुवाई हुने जनाइएको छ ।

रविको मुद्दाको गत कार्तिक १३ गते पनि पेशी चढेको थियो। तर, जोशीका कानुन व्यवसायीको निवेदनले सुनुवाइ स्थगित भएको थियो । अदालतले एउटै प्रकृतिको मुद्दा भएकोले रवि र छविको मुद्दा एकैसाथ राख्न यसअघि आदेश गरेको थियो । लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपियाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ ।

लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम दुई करोड ७४ लाख ८४ हजार रुपियाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार