आईसीसी टी–२० विश्वकप : अन्तिम ओभरमा तीन विकेट लिँदा नेपाल एक रनले विजयी 

काठमाडौं । अन्तिम ओभरमा तीन विकेट लिएपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ ।

आइतबार ओमानको अल अमेरतमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले निर्धारित २० ओभर नै ब्याटिङ गर्दा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

यूएईलाई जितका निम्ति अन्तिम ओभरमा १० रनको आवश्यकता हुँदा नेपालका कप्तान रोहित पाैडेलले बलिङको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई थमाएका थिए । दीपेन्द्रले गरेको २०औँ ओभरको पहिलो बलमा जाहिद अलीले एक रन लिए । दोस्रो बल डट हुँदा तेस्रो बलमा यूएईका अर्का ब्याटर ध्रुव परासरले छक्का प्रहार गरेका थिए । योसँगै यूएईलाई अन्तिम तीन बलमा तीन रनको मात्र आवश्यकता थियो ।

चौथो बलमा दीपेन्द्रले परासरलाई सन्दीप जोराबाट क्याच गराउँदै पभेलियन पठाए । र, यसपछिका अन्तिम दुई बलमा दुई रनआउट हुँदा यूएईले एक रनको हार बेहोरेको हो । पाँचौँ बलमा हैदर अलीलाई जोरा र आसिफ सेखले नै रनआउट गरेका थिए । यस्तै, अन्तिम बलमा जितका निम्ति तीन रन आवश्यक हुँदा यूएईबाट क्रिजमा रहेका जुनैद सिद्दिकी र जाहिद अली दुई रनका निम्ति दौडिएका थिए । जहाँ एक रन पूरा भए पनि अर्को रन लिने क्रममा जाहिदलाई नेपालका रोहित र आसिफले रनआउट गरे । योसँगै नेपालले सुपर–६ मा महत्वपूर्ण दुई अंक सुनिश्चित गरेको हो ।

यूएईका आलिसान साराफुले ५८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । ध्रुव परासरले ३२, जोनाथन फिगीले १९ र जाहिद अलीले ११ रन थपे ।

नेपालको जितमा नायक बनेका दीपेन्द्रले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिए । सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानले समान एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार