काठमाडौं । बैंकहरूले शेयर लगानीकर्तालाई दिने कर्जा चालु आवको पहिलो महिना साउनमा तीन अर्ब ८३ करोड ३० लाख रुपियाँ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
मार्जिन प्रकृतिको कर्जाको बक्यौता (आउटस्ट्यान्डीङ) को आधारमा यस्तो देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको शेयर किन्न बैंकहरुले लगानीकर्तालाई शेयर धितोमा ऋण दिन्छन्, जसलाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ ।
गत असारसम्म एक खर्ब ४० अर्ब ७० करोड २० लाख रुपियाँ कर्जा प्रवाह भएको थियो । साउन मसान्तसम्म आउँदा त्यो एक खर्ब ४४ अर्ब ५३ करोड ५० लाख रुपियाँ पुगेको छ । गत आवको साउनमा एक अर्ब ३५ करोड रुपियाँले यस्तो कर्जा बढेको थियो ।
तथ्यांकअनुसार वाणिज्य बैंकहरुले यस्तो कर्जा प्रवाह तीन अर्ब ८० करोड चार लाख रुपियाँले बढाएका छन् । गत असारसम्म वाणिज्य बैंकहरुले एक खर्ब १६ अर्ब ८० करोड ९० लाख रुपियाँ कर्जा प्रवाह गरेका थिए । साउन मसान्तसम्म आउँदा त्यो एक अर्ब २० अर्ब ६१ करोड ३० लाख रुपियाँ पुगेको छ ।