काठमाडौं । सोमबार र मंगलबार भएको जेन–जी आन्दोलन र त्यसपछि जारी कर्फ्यूले तीन दिनदेखि शेयर कारोबार ठप्प भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि आज बिहीबारसम्म कारोबार बन्द गरेको हो ।
अब नियमित प्रक्रिया अनुसार नै शुक्रबार र शनिबार कारोबार हुने छैन । साथै, आइतबार शेयर कारोबार खुल्ने–नखुल्नेमा पनि अझै टुंगो छैन ।
नेप्सेको सूचनाअनुसार बिहीबारसम्म मात्रै कारोबार बन्द गरिएको छ । आइतबारदेखि कारोबार सुरु हुने नहुने बिषयमा केही उल्लेख गरिएको छैन । मुलकको राजनीतिक अवस्था कस्तो हुन्छ, सोहीअनुसार यसबारे निर्णय गरिने नेप्सेका अधिकारीहरु बताउँछन् ।
सोमबार र मंगलबार भएको जेन–जी आन्दोलनले केपी ओली सरकार ढलेको छ । साथै, अहिले अन्तरिम सरकार बनाएर निर्वाचन गर्ने गरि छलफल भइरहेको छ । यो शून्य अवधिमा थप क्षति हुन नदिन काठमाडौंसहित अधिकांश ठाउँमा निषेधाज्ञा तथा कर्फ्यू लगाइएको छ ।
यो शून्य समयमा आम नागरिकलाई पैसाको आवश्यक हुन्छ । त्यो अवस्थामा शेयर बिक्री गरेर पनि पैसाको व्यवस्थापन गर्न सकिन्छ । तर, शेयर कारोबार नै बन्द भएपछि अफ्ठ्यारो परिस्थितिमा नागरिकको पैसा ‘लक’ भएर बसेको छ ।
यस्तै, तीन कम्पनीको आईपीओ बाँडफाँट पनि अन्योलमा परेको छ । यसबीचमा झापा इनर्जी, बुंगल हाइड्रो लिमिटेड र बन्दीपुर केवल कार एन्ड टुरिज्म लिमिटेडले आईपीओ बिक्री गर्न आवेदन लिइसकेका छन् । तर, त्यसको बाँडफाँट पनि हुन सकेको छैन । त्यहाँ पनि नागरिकको रकम ‘लक’ भएर बसेको छ । यो बेलामा शेयर बाँडफाँड गर्न सकेको अवस्थामा शेयर पर्नेको पैसा काटिए पनि नपर्नेलाई आर्थिक व्यवस्थापनमा सहजता हुने थियो । तर, त्यो भएको छैन ।