काठमाडौं । दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिएका छन् ।
लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दुग्ध किसानहरूले आइतबार डीडीसीको कार्यालयबाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दुग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरूलाई बाहिर रोकेपछि केहीबेर प्रहरी र दुग्ध किसानहरूबीच घम्साघम्सी समेत भएको थियो ।
दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थानलगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् ।
आफूहरूको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । अहिले दुग्ध किसानहरूको तीन अर्बभन्दा बढस् बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् । दूधको बक्यौता रकम भुक्तानी नगरेकाले जीविकोपार्जन गर्न समेत समस्या भएको किसानहरूले गुनासो गरेका छन् ।