वाणिज्य बैंकहरुले सार्वजनिक गर्यो भदौ २०८२ को नयाँ ब्याजदर

काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर साउनको ४.११ प्रतिशतबाट घटेर भदौमा ३.९६ प्रतिशत पुगेको छ।

२० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन् भने केवल प्रभु बैंकले मात्र दर बढाएको छ। बाँकी बैंकहरुको दर अपरिवर्तित छ।

सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ, जसअनुसार १.१३ प्रतिशत अंकले कटौती भएको हो।

यता प्रभु बैंकले भने उल्टै दर बढाएको छ। प्रभुले साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउनमा सबैभन्दा कम ब्याज दिने प्रभु बैंक भदौमा मध्यम स्तरमा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार