काठमाडौं । सरकारले पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित विभिन्न २२ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका २२ कम्पनीहरूलाई काम सन्तोषजनक नभएपछि स्पष्टीकरण सोधेको हो ।
कार्यालयका अनुसार यसअघि ती कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो । तर हालसम्म पनि अटेर गरेकाले कार्यालयले उनीहरूको सूची सार्वजनिक गर्दै कालोसूचीमा राख्न नपर्नाको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।