काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब ६५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । उद्योग विभागले जारी गरेको विवरण अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार ४०० रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको हो ।
गत वर्ष ८२४ साना, १० मझौला र ६ वटा ठूला उद्योगमा उक्त प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरिएको उद्योग विभागको तथ्यांकले देखाउँछ ।
विभागले जारी गरेको विवरणअनुसार गत आर्थिक वर्ष सेवामूलक ८४ वटा उद्योगमा ३० अर्ब ९० करोड ७७ लाख ३० हजार रुपैयाँ लगानी स्वीकृत गरिएको छ । पर्यटनमूलक ३०४ वटा उद्योगमा २६ अर्ब ८२ करोड ४२ लाख ६० हजार रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरिएको छ ।
उत्पादनमूलक ५५ वटा उद्योगमा तीन अर्ब ८४ करोड २० लाख ५० हजार २०० रुपैयाँ, सूचनाप्रविधिमूलक ३८२ उद्योगमा एक अर्ब ८४ करोड ९६ लाख ३ हजार २०० रुपैयाँ, कृषिमूलक १२ उद्योगमा एक अर्ब ४६ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।