नर्भिक अस्पतालले १८ लाख क्षतिपूर्ति तिर्‍यो

काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालले उपचार क्रममा लापरवाही गरेको भन्दै परेको उजुरीमा पीडितलाई १८ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्माको रोहबरमा मङ्गलबार अस्पताल प्रशासन र पीडितबीच क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मिलापत्र भएको हो ।

उपचार गराउन ७० वर्षीय उषादेवी यादव नर्भिक अस्पताल गएकी थिइन्‌ । तर, उपचारपछि पक्षघात भएपछि उनका छोरा जयप्रकाश यादवले जिल्ला अदालत काठमाडौँमा जाहेरी दिएका थिए ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरिरहँदा नर्भिकले क्षतिपूर्ति तिरेको हो ।

जिल्ला अदालतले उक्त जाहेरी गत वैशाखमा उपभोक्ता अदालतमा पठाइदिएको थियो । नेपालकै महङ्गो मानिने नर्भिक अस्पतालका संस्थापक तथा अध्यक्ष व्यवसायी वसन्तकुमार चौधरी हुन्‌ ।

प्रतिक्रिया
सम्बन्धित समाचार