सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार ६५४ फिर्ता तथा हिसाब मिलान गर्न सफल भएको छ ।

समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको रु ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार ७३० बचत हिनामिना, अपचलन र दुरुपयोग भएको भनी उजुरी दिएका थिए ।

समितिका अनुसार अब रु ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार ७६ बचत फिर्ता गर्न बाँकी छ । सहकारीको सिद्धान्त, मर्म र उद्देश्य विपरीत बचतकर्ताको बचत हिनामिना, अपचलन र दुरुपयोग गर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मेवारी समितिले लिँदै आएको छ ।

त्यस क्रममा समितिले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेकामा तीनवटा सहकारीको रकम फिर्ता र हिसाब राफराफ गरिरहेको छ ।

सोही क्रममा समितिले गत कात्तिकदेखि यही असार १५ गतेसम्म सङ्कलित रु २९ करोड ८२ लाख आठ हजार १२८ सहकारीका ५६ हजार १०६ जनालाई बचतकर्तालाई फिर्ता गर्न प्रस्ताव गरेको छ । सङ्कलित रकम बचतकर्ताको बचतको तुलनामा ४१ देखि ५७ प्रतिशत मात्रै भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार