काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरुमा ३६ अर्ब ८६ करोड १० लाख रुपियाँ बराबरको जीवन बीमालेख नविकरण नभई ‘व्यतित’ भएर बसेको देखिएको छ । संख्याका आधारमा १२ लाख ५४ हजार ४७८ वटा बीमालेख नविकरण भएका छैनन् ।
हाल नेपालमा १४ ठुला र तीन लघु जीवन बीमा कम्पनी छन् । उक्त कम्पनीहरुमा सो बराबरको बीमालेख नविकरण नभई बसेको हो ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बैशाख मसान्तसम्मको बीमा प्रतिबिम्ब सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । यो गत आवको बैशाख मसान्तसम्मको तुलनामा संख्याका आधारमा ११.६३ प्रतिशत र रकमका आधारमा १८.९६ प्रतिशतले बढी हो । गत आवको बैशाख मसान्तसम्म ३० अर्ब ९८ करोड ६७ लाख रुपियाँ बराबरको ११ लाख २३ हजार ७४२ वटा बीमालेख नविकरण नभई बसेको थियो ।