वीरगञ्ज – वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आवको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।
जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन् ।
इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट चार अर्ब तीन करोड राजस्व संकलन भएको छ । तर, गत आवको सोही अवधिमा भने चार अर्ब ३९ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो ।