काठमाडौँ – सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका ५ उद्देश्य र सात प्राथमिकता सुनाएका छन् ।
आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका ५ उद्देश्य उल्लेख गरे ।
आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम् फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने, सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने उद्देश्य राखिएको अर्थमन्त्री पौडेलले बताए ।