पोखरा । पोखरामा आजदेखि होमस्टे मार्ट हुँदै छ । गाउँलाई सहरसँग जोड्ने उद्देश्यले शुक्रबार र शनिबार मार्ट आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को सहआयोजनामा हुने २ दिने मार्टमा प्रदेशभित्रका विभिन्न होमस्टेहरू सहभागी हुँदै छन्
होमस्टे सञ्चालकहरूले आफ्नो होमस्टेबाट प्रदान हुने प्याकेजबारे प्रचार गर्नेछन् । ‘होमस्टेलाई वास्तवमा सहरसँग जोड्नुपर्छ । सहरका मान्छे गएर त होमस्टे चल्छ,’ बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने भन्छन्, ‘हामी गाउँ र सहरलाई जोड्न होमस्टे मार्ट गर्न गैरहेका छौं ।’
मार्टमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे छुट्टाछुट्टै बहस पनि हुनेछ । साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति राखिएको लामिछानेले बताए ।
पछिल्लो समय होमस्टेमा निरन्तर पाहुना गएपछि कतिपय होमस्टे बन्द हुने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारले प्रदेशभरी होमस्टे विस्तार र विकास गर्ने गरी बर्सेनि करोडौं रकम लगानी गर्दै आएको छ । तर अनुदान पाएका होमस्टे पनि धमाधम बन्द भैरहेका छन् । सरकारले हालसम्म ५० करोड भन्दा बढी लगानी होमस्टेमा गरेको तथ्याङ्क छ ।