बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

काठमाडौँ – कैलालीमा सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगलबार गोदावरी नगरपालिका- १ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन् ।

आचार्यलाई सुरक्षित प्रसूति गराउन प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रशूसापत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरे ।

‘बाटोमा व्यथा लागेर छट्पटाइरहेकी महिलालाई प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,’ एसपी राणाले भने ।

मंगलबार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर पाएपछि खैराना प्रहरी चौकीबाट प्रहरी हवल्दारसहित प्रहरी जवान देउवा त्यहाँ पुगेकी थिइन् । व्यथा लागेको अवस्थामा भेटिएकी चन्द्राले बाटोमै छोरालाई जन्म दिएकी थिइन् । सो क्रममा प्रहरी जवान देउवाले सघाएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

बाटोमै छोरा जन्माएकी चन्द्राको उद्धारका लागि पद्‌मा अस्पतालका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको टिम पनि त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार चन्द्राका श्रीमान् रोजगारीका लागि भारतमा छन् । सुर्खेतको भेरीगंगा नगरपालिका– ८ की चन्द्राले बझाङका डम्बर जोशीसँग भागी विवाह गरेर अत्तरियामा डेरामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार