काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासन स्वीकृतिका लागि आवेदन दिएका कम्पनीका सबै फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको छ । बिचौलियमार्फत कमिसन मागिएको भन्ने समाचार बाहिरिएपछि अख्तियारले बुधबार छापा मारेको थियो । सोही विषयमा छानबिन गर्न बुधबार बोर्डबाट कागजात ल्याइएको अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए ।
बुधबार खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो । आयोगले बोर्डमा छापा मारेर आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको बारेमा सोधपुछ गरेको बोर्डका एक अधिकारीले बताए । तर, ती अधिकारीले भने फाइल नलगेको बताए ।
‘आईपीओ निष्कासनका लागि आवेदन दिएका कम्पनीले पेस गरेका कागजात ल्याइएको छ,’ अख्तियारका ती अधिकारीले भने, ‘अख्तियारले यस विषयमा अनुसन्धान गर्नेछ ।’ बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिएर बिचौलियामार्फत पाँच–सात प्रतिशत कमिसन मागेको ऊर्जा व्यवसायीहरूले आरोप लगाएका छन् ।