बैंक तथा वित्तीय संस्थाको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं– पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्री कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको भुमिका स्पष्ट नभएको भन्ने गुनासो सुनिएको समेत बताए ।

उनले राष्ट्र बैंकको भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको बताए । उनले जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानीको अधिकार प्रदान गर्न र डिजिटल बैंकिङको कानुनी आधार तयार गर्न नीतिगत सुधारको खाँचो रहेको औँल्याए ।

उनले यी विषयहरूमा विज्ञहरूबाट सुझाव प्राप्त भएमा छलफल सहज हुने धारणा समेत राखे । यस्तै, उनले साइबर सुरक्षा नीति र आपतकालिन पुनस्र्थापना नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउन विज्ञहरूको रायको अपेक्षा गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार