नेतान्याहूलाई हटाउन इजरायली विपक्षी दलका पाँच नेता एकताबद्ध

काठमाडौँ, ३ मंसिर । इजरायलका पाँच विपक्षी नेता प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउन एकजुट भएका छन् र उनलाई विस्थापित गर्नुलाई आफ्नो “सर्वोच्च प्राथमिकता” घोषणा गरेका छन्।

‘द जेरुसेलम पोस्ट’ का अनुसार गादी आइसेनकोट, नाफ्ताली बेनेट, यायर लापिड, यायर गोलान र एभिग्डोर लिबरम्यानसहितका ती पाँच नेताले बुधबार नेसेट (इजरायली संसद्) मा भेटघाट गरे। उनीहरूले इजरायलमा देखिएका राजनीतिक तथा सुरक्षा चुनौतीका माझ एक “राष्ट्रिय आपत्कालीन सरकार” गठन गर्न आह्वान गरेका छन्।

बेनेटले नेतान्याहूसँग करिब तीन घण्टा लामो बैठक गरेपछि यो घोषणा आएको हो।

उक्त बैठकमा ‘याशार’ का नेता गादी आइजेनकोट, ‘ब्याचाद’ का नेता नाफ्ताली बेनेट, ‘येश अतिद’ का नेता यायर लापिड, ‘द डेमोक्र्याट्स’का नेता यायर गोलान र ‘यिस्रायल बेतेनु’का नेता एभिग्डोर लिबरम्यान सहभागी थिए।

एक संयुक्त विज्ञप्तिमा ती नेताहरूले “हाल इजरायलले सुरक्षा, सामाजिक र अन्तर्राष्ट्रिय क्षेत्रमा सामना गरिरहेको वास्तविक संकटकाल” तथा “आगामी दिनहरूको अत्यन्त संवेदनशील अवस्था” को उल्लेख गरेका छन्। दलहरूले मिलेर काम गरिरहने सहमति पनि जनाएका छन् र मतान काहानालाई नेसेट (इजरायली संसद्) को नयाँ सभामुखमा मंगलबार गरिएको चयनलाई स्वागत गरेका छन्।

‘द जेरुसेलम पोस्ट’ का अनुसार विपक्षी गठबन्धनको बैठकअघि बेनेटले नेतान्याहूसँग छुट्टै भेटवार्ता गरे। यो भेटबारे आइजेनकोटलाई जानकारी दिइएको थिएन, जसका कारण गठबन्धनको बैठक बुधबार दिउँसो पछिल्लो समयसम्मका लागि स्थगित गर्नुपर्‍यो।

भेटपछि गोलानलाई सोधियो कि बेनेट र नेतान्याहूबीच भएको कुराकानीबारे छलफल भयो वा भएन। उनले यो एक “संवेदनशील कुराकानी” भएकाले यस विषयमा आफूले सञ्चारमाध्यमसमक्ष केही बोल्न नसक्ने बताए।

बेनेटले पनि पत्रकारहरूका प्रश्नको जवाफ दिन अस्वीकार गरे। नेतान्याहूको गठबन्धन र आइजेनकोटका नेतृत्वमा रहेको समूहबीच सम्भावित “एकता सरकार” गठनका लागि वार्ता चलिरहेकै बेला बेनेट र नेतान्याहूबीच यो भेट भएको हो।

आइजेनकोटका नेतृत्वमा रहेको गठबन्धनभित्र विभाजन हुन सक्ने सम्भावनाबारे चलिरहेका अड्कलबाजीलाई सम्बोधन गर्दै लापिडले भने कि यस्ता हल्लाले नेताहरूलाई उनीहरूको लक्ष्यबाट विचलित गराउन सक्दैनन्।

बेनेट र नेतान्याहूबीचको भेटवार्ताबारे सोधिएको प्रश्नमा लापिडले भने, “कुनै पनि भेटवार्ता, सुरक्षा ब्रिफिङ वा कुराकानीलाई लिएर चल्ने हल्ला र अड्कलबाजीले आइजेनकोटका नेतृत्वमा रहेको गठबन्धनलाई सरकार गठन गर्ने आफ्नो लक्ष्यबाट भड्काउन सक्दैनन्।”

उनले भने कि यसको उद्देश्य “इजरायलले सामना गरिरहेका सुरक्षा, आर्थिक र कूटनीतिक चुनौतीलाई सफलतापूर्वक सम्बोधन गर्न सक्ने एउटा नयाँ, प्रभावकारी र सक्षम सरकार स्थापना गर्नु” हो।

लापिडले थपे, “बेनेट र म आइजेनकोटका नेतृत्वमा ‘परिवर्तनका लागि सरकार’ गठन गर्न अथक प्रयास गरिरहेका छौँ।”

‘द जेरुसेलम पोस्ट’ का अनुसार बुधबार नेसेट (इजरायली संसद्) मा भएको भेटवार्तापछि बेनेटका सहयोगीहरूले बताए कि उनी नेतान्याहूका नेतृत्वमा बन्ने एकता सरकारमा सामेल हुने छैनन्।

उनका सहयोगीहरूका अनुसार बेनेटका लागि एकता सरकारको एउटै मात्र स्वीकार्य स्वरूप त्यो हुन सक्छ जसमा “रोटेसन” (पालोपालो नेतृत्व गर्ने) सम्झौताअन्तर्गत सुरुमा आइजेनकोट प्रधानमन्त्री बन्ने व्यवस्था होस्।

प्रतिक्रिया
सम्बन्धित समाचार