काठमाडौं । बंगालको खाडीमा विकसित हुन लागेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा समेत पर्ने देखिएपछि मौसमविद्ले अति भारी वर्षासम्मको सम्भावना औँल्याएका छन्। असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै सम्बन्धित सरकारी निकायहरूले सर्वसाधारणलाई पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाल मौसम विज्ञान विभागका अनुसार असोज ७ गतेदेखि नै कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमशः बढ्ने सम्भावना छ। वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र गेग्य्रान बहावको जोखिमसमेत बढ्न सक्ने विभागले जनाएको छ।
भारी वर्षाका कारण विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या आउन सक्ने अनुमान गरिएको छ। साना–ठूला नदी, खोला तथा खहरेमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
वर्षाको प्रभाव दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत पर्न सक्ने विभागले जनाएको छ। नदी तथा खोलानजिक सञ्चालन भइरहेका निर्माण कार्यमा समेत जोखिम बढ्न सक्ने भएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी रातिको समयमा यात्रा नगर्न र सम्भावित जोखिमबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सुझाव दिएको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा आकस्मिक अवस्था आए तत्काल उद्धार र सडक खुलाउन सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
त्यसैगरी, स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकहरूले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने तयारी गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ।
अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपास, पहिरोको जोखिम भएका स्थान र नदी–खोला किनारका बस्तीमा बस्ने नागरिकलाई थप सचेत रहन आग्रह गरिएको छ।
मौसम प्रणालीको प्रभाव हिमाली क्षेत्रमा पनि पर्ने भएकाले भारी हिमपात हुन सक्ने विभागको अनुमान छ। हिमाली क्षेत्रमा रहेका पर्वतारोही, पदयात्री तथा पर्यटनसँग सम्बन्धित व्यक्तिहरूलाई मौसमको अवस्था निरन्तर निगरानी गर्न र जोखिम बढे यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि असोज ८ देखि १२ गतेसम्म मौसम प्रणालीको प्रभाव रहन सक्ने बताएका छन्।
उनका अनुसार हिमाली क्षेत्रमा पदयात्रामा रहेका व्यक्तिहरूले सम्भव भएसम्म असोज ८ गतेभित्र सुरक्षित स्थानतर्फ फर्कनु उचित हुन्छ। नयाँ पदयात्राको योजना बनाइरहेकाहरूले भने नेपाल मौसम विज्ञान विभागबाट जारी हुने पछिल्लो सूचना हेरेर मात्र निर्णय गर्नुपर्ने उनको सुझाव छ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पदयात्री तथा पर्वतारोहीका लागि जोखिम थपिन सक्ने उनले बताएका छन्।
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
पाक्न लागेको धान खेतमा पानी जम्न नदिन उचित निकासको व्यवस्था गर्न नार्कले सुझाव दिएको छ। मौसममा सुधार आएपछि मात्र धान काट्न र काट्नैपर्ने अवस्था आए सुरक्षित तथा ओभानो स्थानमा भण्डारण गर्न आग्रह गरिएको छ।
यसले वर्षाका कारण धान ढल्ने, खेतमा पानी जम्ने तथा काटिसकेको बालीमा क्षति पुग्ने सम्भावना कम गर्न सहयोग गर्नेछ।
प्राधिकरणले मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न आग्रह गरेको छ। विपद्को समयमा सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
सरकारी निकायहरूले मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने पछिल्ला पूर्वानुमान, पूर्वसूचना र चेतावनीलाई नियमित रूपमा हेर्न तथा आधिकारिक सूचनालाई आधार बनाएर यात्रा, कृषि तथा अन्य गतिविधिको योजना बनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।